जुम्ला सडक डिभिजनले गर्‍यो चारवटा ठेक्का रद्द

सडक डिभिजन कार्यालय जुम्लाले लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरेको छ।

काठमाडौँ- सडक डिभिजन कार्यालय जुम्लाले लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरेको छ। सडक डिभिजन कार्यालयले चार वटा सडक योजनाका ठेक्का सम्झौता रद्द गरेको सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीहरूले काममा प्रगति नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो । 

कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले लिएको जुम्ला–डोल्पा सडक, शंकरमाली निर्माण सेवाले लिएको नाग्मा–गमगढी सडकअन्तर्गत मुगुको पिनादेखि गमगढीसम्मको खण्ड, मान शाही निर्माण सेवाले लिएको कालिकोटको सेरघाटदेखि मात्म बजार क्षेत्रसम्मको सडक तथा मानक शाहीले लिएको कर्णाली राजमार्गअन्तर्गत सेरिघट्टा सडक सुधारको ठेक्का सम्झौता रद्द गरिएको छ।

कार्यालयका अनुसार ती सबै योजनामा लामो समयसम्म काम अधुरै राखिएको थियो। साथै, अलपत्र आयोजनाहरूलाई छिट्टै नयाँ प्रक्रियामार्फत अघि बढाइने पनि जनाइएको छ। यस कदमले लामो समयदेखि रोकिएका सडक योजनामा पुनः काम शुरू हुने अपेक्षा गरिएको छ भने सेवाग्राहीहरूमा पनि आशा बढेको छ।