पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लु्म्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।