उद्योग वाणिज्य महासंघको निर्वाचनमा निराजन चलाउनेको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि युवा व्यवसायी नीराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य (वस्तुगत तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

 काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि युवा व्यवसायी नीराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य (वस्तुगत तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा सक्रिय चलाउनेले 'परिवर्तन र रूपान्तरण'को अजेन्डासहित चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन्।

चलाउनेले भन्छन्, “नेपालको व्यावसायिक एवं औद्योगिक परिवेश आज एउटा ऐतिहासिक मोडमा उभिएको छ। नीतिगत अकार्यकुशलता र संरचनात्मक जटिलताले हाम्रा उद्यमीहरूको वास्तविक सामर्थ्यलाई खुम्च्याएको छ, विशेषगरी वस्तुगत क्षेत्र मारमा परेको छ।”

​चलाउनेले आफ्नो लक्ष्य नेपाली वस्तु बजारलाई परम्परागत ढर्राबाट मुक्त गरी आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउनु भएको बताए। "मैले निजी क्षेत्रको प्रतिनिधिको रूपमा सरकारी संयन्त्रमा बसेर समस्याहरूलाई नजिकबाट देखेको छु। अब ती समस्याको ठोस समाधान निकाल्ने मार्गचित्र सहित म आएको छु,” उनले भने।

चलाउने हाल विगत दुई दशकदेखि कृषि, खाद्यान्न प्रशोधन र हस्पिटालिटी क्षेत्रमा निरन्तर क्रियाशील 'नमस्ते ग्रुप' (नमस्ते एग्रो तथा नमस्ते आयल एन्ड रिफाइनरी) को नेतृत्वमा छन्। नेपाली कृषि उपजलाई आधुनिक प्रशोधनमार्फत बजारसम्म पुर्‍याउन उनले खेलेको नेतृत्वदायी भूमिकाले उनलाई एक सफल र भिजनरी उद्यमीको पहिचान दिलाएको छ।

​चलाउने हाल नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा बोर्ड अफ डाइरेक्टरका रूपमा दोस्रो कार्यकाल सम्हालिरहेका छन्। यसका साथै उनी रोटरी क्लब र नेपाल यार्सागुम्बा एशोसिएसनजस्ता सामाजिक एवं व्यावसायिक संस्थाहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन्।

​​सुदूरपश्चिमको अछाम पुर्ख्यौली घर भई बर्दियाको गेरुवामा २०४२ सालमा जन्मिएका चलाउनेले व्यवसायलाई पारिवारिक विरासतका रूपमा सानैदेखि नजिकबाट बुझेका हुन्। एसएलसी पश्चात् काठमाडौँ आएर अध्ययनसँगै व्यापारलाई अघि बढाएका उनले कहिल्यै जागिर वा विदेश पलायनको सोच राखेनन्।

​“ग्रामीण यथार्थ र माटोको सुगन्ध बुझेको हुनाले म साना तथा मझौला व्यवसायीका पीडा महसुस गर्न सक्छु,” उनले भने। महासंघको निर्वाचनमा उनले पदभन्दा बढी परिणाम र व्यवसायीको 'सुरक्षा कवच'बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।