सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

संघीय संसद् सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने तयारीसँगै ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।

तस्वीर : रासस

काठमाडौँ– संघीय संसद् सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएका छन् भने अधिकांश स्थानमा रङरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ।

यसपटक उल्लेख्य सिटसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं. २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सी अटाउने बैठक हल तयार पारिएको छ।

कार्यालयमा पहिलेदेखि नै प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचरलाई नै पुनः प्रयोग गरिएको छ भने केही नयाँ सामग्री मात्र थपिएका छन्। खर्च कटौतीलाई प्राथमिकता दिने दलको नीतिअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले नयाँ सामग्री खरिद नगरी उपलब्ध स्रोतबाटै व्यवस्थापन गर्न आग्रह गरेका थिए। सोही आग्रहअनुसार व्यवस्थापन गरिएको सचिवालयका कर्मचारीहरू बताउँछन्। रास्वपाका लागि बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच वटा कक्षसमेत तयार पारिएको छ।

यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ। नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू सोही भवनमा तयार गरिएका छन्। ती कक्षहरूमा रङरोगनको काम सकिए पनि कार्पेट र फर्निचर जडानको काम भने जारी छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ। सांसद संख्या र पदाधिकारीका आधारमा त्यहाँ कोठाहरू विभाजन गरिएका छन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् अधिवेशन शुरू हुनुअगावै सबै दलका संसदीय कार्यालयहरू पूर्ण रूपमा तयार भइसक्नेछन्।