प्रायः दशैँतिहारको समयमा बढ्ने स्मार्टफोनको बिक्री गत निर्वाचनअघि पनि ह्वात्तै बढेको थियो। निर्वाचनअघि के कारणले स्मार्टफोनको बिक्री बढ्यो? निर्वाचनपछिको अवस्था के छ त?
काठमाडौँ– न्युरोडस्थित शिव शर्माको मोबाइल पसलमा निर्वाचनभन्दा अगाडि दशैँ–तिहारकै जस्तो स्मार्टफोन किन्ने ग्राहकको भीडभाड भयो। उनको व्यापार सन्तोषजनक भयो।
तर चुनावपछि त्यही दरमा मोबाइल बिक्री भएको छैन। “एकदमै घटेरै गएको भन्ने होइन, तर तुलना गर्दा चुनावअगाडिको दाँजोमा व्यापार कम छ,” शर्मा भन्छन्।
निर्वाचन सकिएको दुई हप्तापछि न्युरोडका व्यवसायी शर्मा मोबाइल फोनको बिक्री अघिल्लो महिनाको तुलनामा कम हुनुको दुई कारण हुनसक्ने बताउँछन्। पहिलो, चुनावकै सेरोफेरोमा धेरैले मोबाइल लिइसकेकाले। दोस्रो, अन्तर्राष्ट्रिय रूपमै स्मार्टफोनको मूल्य बढेपछि हरेक ब्रान्डका मोडेल महँगिएकाले। यद्यपि, चुनावताका नै के कारणले स्मार्टफोनको माग बढेको आफूलाई आकलन नभएको उनको भनाइ छ।
काठमाडौँको मुख्य बजारमा मात्र नभई विभिन्न टोलका चोकमा रहेका मोबाइल पसलमा पनि चुनावताका मोबाइलको बिक्री राम्रो भएको थियो। काँडाघारी नजिकको वीरेन्द्र चोकमा रहेको विश्रान्ति मोबाइल हबका निशान्त गौतमले गत फागुन ७ गते उकालोसँग दैनिक दुईतीन वटासम्म स्मार्ट मोबाइल बिक्री भइरहेको बताएका थिए। पहिलाभन्दा मोबाइल किन्नेको संख्या बढेको उनको भनाइ थियो।
निर्वाचनको सेरोफेरोमा तीनवटा कारणले स्मार्टफोनको बिक्री बढेको हुन सक्ने बजारशास्त्रकी विज्ञ डा. रोशि लामिछानेको आकलन छ। भदौको तेस्रो साता भएको जेन–जी आन्दोलनको असरले दशैँ–तिहारको खरिद केही समयका लागि स्थगित भएर यसको प्रभाव माघ-फागुनतिर देखिएको हुन सक्छ। त्यस्तै, निर्वाचनको समयमा तुलनात्मक रूपमा धेरै नेपालीबाट स्वदेश फर्किएका थिए, आएको बेला परिवारजनलाई उपहार किन्ने लहर चलेको हुन सक्छ।
तस्रो चाहिँ, निर्वाचनमा अपडेट लिन र सामाजिक सञ्जालका नयाँ ट्रेन्डमा अद्यावधिक हुन स्मार्टफोन किन्नेको संख्या बढेको हुन सक्ने काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापक रहेकी डा. लामिछाने बताउँछिन्। तर यसलाई सिधै निर्वाचनको प्रभाव भनेर निष्कर्ष निकाल्न गाह्रो हुने उनको भनाइ छ। “विशेषगरी, पहिलोपटक स्मार्टफोन किन्ने चहनेहरू अतिरिक्त खर्च गर्न अग्रसर भएको हुँदा बिक्री बढाउन योगदान दिएको हुन सक्छ,” उनी भन्छिन्।
आयात वृद्धिदर उच्च
भन्सार विभागको तथ्यांकअनुसार, स्मार्टफोनको आयात बर्सेनि बढिरहेको छ। २०८२ माघसम्म सात महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयात १५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा स्मार्टफोन आयात ९.१ प्रतिशतले बढेको थियो।
२०८० माघमा त्यसभन्दा अघिल्लो वर्षको तुलनमा १२ प्रशितले आयात बढेको थियो। यो वर्षको हालसम्मको आयात दर पछिल्लो आधा दशकको भन्दा उच्च छ। माघ महिनासम्म यो वर्ष १४ लाख १४ हजार ९३८ थान मोबाइल आयात भएको छ।
२०८१ को यसै अवधिमा १२ लाख २९ हजार ९५७ थान मोबाइल आएको थियो। २०८० माघसम्म आयात भएको स्मार्ट मोबाइलको संख्या ११ लाख २६ हजार ७४७ थान थियो।
त्यस्तै, २०७९ सालको माघसम्मको आयात १० लाख पाँच हजार १३५ मात्र थियो। दशैँतिहारको बेला उच्च भएको देखिने स्मार्टफोनको बिक्री यो वर्ष माघ फागुनमा पनि बढेकोले आयात वृद्धि दरलाई उच्च बनाएको देखिन्छ।
शून्य व्याजमा किस्ताबन्दी
मोबाइल कम्पनीहरूले नागरिकताको भरमा शून्य व्याजदरमा किस्ताबन्दीमा मोबाइल दिने सुविधा ल्याएको दुई वर्ष भएको छ। नागरिकताको फोटोकपी राखेर किस्तामा पैसा तिर्न मिल्नेगरी स्मार्टफोन किन्न पाउने सुविधा आधा दर्जनभन्दा बढी कम्पनीले दिइरहेका छन्।
फाइनान्स कसले गर्ने भनेर ग्राहकले खोज्नु पर्दैन। मोबाइल पसलमा बिक्रेताले नै फाइनान्स कम्पनीको सुविधाको जानकारी गराउँछन्। यसले गर्दा ग्राहकले आफ्नो बजेटभन्दा बढी मूल्यको मोबाइल किन्न पनि आँट गर्न सक्छन्।
ग्राहकले फाइनान्समा मोबाइल लिन चाहेमा पसल सञ्चालकले नै आवेदन फारमसमेत भरेर तयार गरिदिन्छन्। ग्राहकले सहीछाप गरेपछि मोबाइल पाइहाल्छन्। ग्राहकले शुरूमा निश्चित रुपैयाँ तिरेर आफ्नो बक्यौता किस्तामा चुक्ता गर्दै जान पाउँछन्।
फाइनान्सको सुविधाका कारण नयाँ ‘भर्जन’का मोबाइल फोनहरूको बिक्री राम्रो भइरहेको वीरगन्जको घण्टाघरमा रहेको बालाजी मोबाइलका सञ्चालक विजय कलवार बताउँछन्। “टिकटक, इन्स्टाग्राम, फेसबुकको रिल्समा मानिसहरू आफै पनि सामग्री बनाएर हाल्न थालेपछि त्यसका लागि चाहिने मुख्य कुरा नै स्मार्ट मोबाइल भयो,” कलवारले भने, “नयाँनयाँ फिचर भएका मोबाइल आउँदा त्यसलाई यस्ता प्रयोगकर्ताले किन्न चाहन्छन्। किस्ताबन्दीमा मोबाइल पाउने सुविधा भएपछि त्यो आवश्यकता पूरा गर्न सजिलो पनि भयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
