तीन वर्षअघि शुरू भएको सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम हालसम्म ६७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
काठमाडौँ- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ। तीन वर्षअघि शुरू गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ। दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो। सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ। आयोजनाको समयावधि सकिएपछि गत मंसिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो। उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो।
आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ मंसिर २७ गते सम्झौता भइ गत मंसिर २५ गते म्याद सकिएको थियो। सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ। कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ।
दोस्रो खण्डअन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ। यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मंसिर तेस्रो साता स्तरोन्नति शुरू गरिएको थियो। आयोजनाकाअनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ।

सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो। उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो। हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा भीर भएकाले काम गर्न केही अप्ठ्यारो भएको छ।
यस सडक खण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताइन्। उनका अनुसार अन्य दुई पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो। हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ। अब चाँडै पुल निर्माणको तयारी भइरहेको उनको भनाइ छ।
चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो। यही राजमार्गमा हाल कोटेश्वरबाट लामा–छोटा दुरीका सवारी मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन्।-रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
