सोमबार दुई उडान भर्ने सहमतिपछि खुल्यो नेपाल एयरलाइन्सको कार्यालयमा लगाइएको ताला

दुई सातादेखि उडान ठप्प भएपछि आन्दोलित यात्रुहरू र जिल्ला प्रशासन कार्यालयबीच सोमबार दुई वटा उडान गर्ने सहमति भएपछि जुम्लास्थित नेपाल एयरलाइन्सको कार्यालयमा लगाइएको ताला आइतबार साँझ खोलिएको छ।

तस्वीर : नेपाल न्यूज बैंक

जुम्ला— नेपाल एयरलाइन्सले सोमबार जुम्लामा दुई वटा उडान गर्ने सहमति जनाएपछि कार्यालयमा लगाइएको ताला खोलिएको छ। दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले निगमको कार्यालयमा तालाबन्दी गरेका थिए।

यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सीता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो।

त्यसपछि भएको छलफलमा आइतबारको उडान प्राविधिक कारणवश रद्द भएको जानकारी दिँदै सोमबार दुई वटा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले बताए। उनका अनुसार जुम्लामा नियमित उडान सुनिश्चित गर्न प्रशासनले नेपाल एयरलाइन्स र निजी विमान कम्पनीहरूलाई पत्राचार समेत गरेको छ।

नेपाल एयरलाइन्सका कार्यकारी तहबाट पनि सोमबार दुई वटा उडान गर्ने प्रतिबद्धता आएको छ। निमित्त प्रजिअ रावल र युवा अनुप थापाबीच भएको संवादअनुसार चैत ९ गते बिहान १० देखि ११ बजेसम्म पहिलो र त्यसपछि दिउँसो दोस्रो उडान भर्न नेपालगञ्ज स्टेशनलाई निर्देशन दिइसकिएको छ।

नियमित उडानका लागि पहल गर्ने र सोमबार दुई उडान गर्ने सहमति भएपछि कार्यालयको ताला खोलिएको जुम्ला स्टेसन इन्चार्ज उकान्त न्यौपानेले जानकारी दिए।