दाउन्ने खण्डमा सडक हिलाम्य भएपछि यातायात अवरुद्ध, कावासोतीमै रोकिए सवारीसाधन

पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा लगातारको वर्षाले सडक हिलाम्य भई सवारीसाधन चिप्लिएपछि यातायात आवागमन प्रभावित भएको छ।

वर्षाका कारण शुक्रबारदेखि अवरुद्ध रहेको बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्र। तस्वीरः विष्णुप्रसाद गौडेल/रासस

मध्यविन्दु (नवलपरासी)– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन। लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको हो।

शुक्रबार दिउँसोदेखि परेको वर्षाले दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताए। उनका अनुसार घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा बढी समस्या देखिएको छ।

दाउन्ने खण्डमा सवारीसाधन फसेर जाम बढ्न थालेपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारीसाधनलाई कावासोती क्षेत्रमै रोकिएको छ। यसअघि सडकको अवस्थालाई ध्यानमा राख्दै नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माण कार्य भइरहेकाले सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। अवरोध हटाई सवारी सञ्चालन सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ।