हिउँमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार

हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ र पूर्वी रुकुम सीमा क्षेत्रमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ।

ढोरपाटन (बागलुङ)– भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको हिमपातका कारण रोकिएका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डोजर प्रयोग गरी सडक खुलाएपछि यात्रुहरूको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए। उनका अनुसार सात वटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा सवार यात्रुहरू हिउँका कारण समस्यामा परेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर यातायात सुचारु गरिएको बताउँदै अब मौसम हेरेर मात्र यात्रा गर्न आग्रह गरे। उनले भने, “शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, जसले गर्दा बिहानसम्म सडक पूर्ण रूपमा अवरुद्ध भयो। खबर पाउनासाथ हामी भूमे गाउँपालिकाको मेसिन र सुरक्षाकर्मीसहित खटिएर सडक खुलायौँ, अहिले यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।”

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात भने नरोकिएको बताए। काठमाडौँ र पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान र दैलेखतर्फ जाने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न उनले जानकारी दिए।