वर्षा गराउने प्रणाली बाहिरिँदै, आइतबारदेखि मौसममा सुधार हुने

शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले मौसममा उल्लेख्य सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र शनिबार बिहानको जस्तो झरी अब नहुने बताइन्।

पोखरेलका अनुसार प्रि–मनसुनका गतिविधि भने कायम नै रहनेछन् र आइतबार पनि कतैकतै आंशिक बदली हुनेछ। हाल नेपालको पूर्वी क्षेत्र र अन्य केही स्थानमा भइरहेको हल्का वर्षा पनि बिस्तारै हट्दै जाने उनको भनाइ छ।

अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने र फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहने भए पनि ठूलो र लामो समयसम्मको वर्षा भने तत्काल नहुने उनले बताइन्।

विभागको अभिलेखअनुसार अहिले कोशी, बागमती र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। विभागको पछिल्लो २४ घण्टाको विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ।

यस्तै, रुपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।