कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा जारी

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

कपिलवस्तु– जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। महाराजगञ्ज नगरपालिकाको बरगदा गाउँमा शनिबार बिहान दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले यो कदम चालेको हो।

शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको भन्दै विवाद शुरू भएको थियो। सो विवादले उग्र रूप लिँदा दुई समूहबीच ढुंगा हानाहानसमेत भएको थियो।

स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शनिबार दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

प्रशासनले पूर्वमा बरगादी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी आदेशमा तोकिएका क्षेत्रहरूमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले आदेशको उल्लंघन गरी अवाञ्छित गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।