इनिशा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कडा कानूनी कारबाहीको माग गर्दै शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

तस्वीर : नेपाल न्यूज बैंक

काठमाडौँ– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। 

लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिलगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा माइतीघरमा बृहत् धर्ना कार्यक्रम गरिएको हो। प्रदर्शनकारीहरूले दोषीलाई कडा कानूनी कारबाही गर्न माग गरेका छन्। विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए।

“भोलिका दिनमा यो खालको मुद्दा लिएर सडकमा आउन नपर्ने गरी अब राज्य सक्षम हुनुपर्छ। हामी हिजो पनि यही विषयमा ४५ दिनसम्म सडक आन्दोलनमा थियौँ। भोलिका दिनमा यस्तो आन्दोलन गर्न नपर्ने गरी सरकारले काम गर्नुपर्छ। भोलि बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्दा उठाइनेछ। सधैँ यो समुदायले घृणा र पीडा सहन सक्दैन,” उनले भने।