एक दशकदेखि काठमाडौँमा मजदुरी गरिरहेका धादिङका कमलसिंह ठकुरी शहरका इँटा र सिमेन्टभन्दा गाउँको ढुंगा–माटोमा रमाउन चाहन्छन्। नयाँ सरकारले वास्तविक कृषकलाई अनुदान र मजदुरलाई सम्मान देओस् भन्ने उनको चाहना छ।
काठमाडौँ– काम खोज्दै शहर झरेको मान्छेलाई गाउँ सम्झेर कत्तिको न्यास्रो लाग्छ होला? एक दशकदेखि काठमाडौँमा मजदुरी गरिरहेका धादिङका कमलसिंह ठकुरी साँझ–बिहान गाउँघर, खेतबारी र गाईबस्तु सम्झिरहन्छन्। कुरैकुरामा उनको मुखबाट बोली छुट्छ– “खासमा रमाइलो त गाउँमै हो, बाध्यताले पो यहाँ आइयो।”
फागुनको अन्तिम साता, हाँडीगाउँको एक खाजा पसलमा उनी खाजा खाँदै थिए। साहुनीले ग्यास नपाइएको कुरा निकाल्दा उनले ‘गाउँ नै रमाइलो’ भएको बताए। गाउँमा दाउरा प्रशस्त पाइने भएकाले ग्यासको आवश्यकता नपर्ने उनको आशय थियो।
छोटो बसाइमा उनको स्वभावबारे अनुमान गर्न सकिन्थ्यो– मनमा कौतूहल, देशप्रतिको चिन्ता र बोलिरहने बानी। सोही पसलमा खाजा खान आइपुगेका अपरिचित व्यक्तिहरूको संवादमा मिसिएर उनी जिज्ञासा प्रकट गरिरहन्थे– “अब त देश बन्छ होला है?”
अक्षर नचिने पनि उनले सामाजिक सञ्जालका भिडियो हेरेर र सुनेर देश–दुनियाँबारे केही जानेका छन्। भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा पुराना दलहरू बढारिएका र नयाँ दलले बहुमत ल्याएकोमा उनी खुशीसँगै आशावादी देखिन्थे।
पश्चिम एशियाको युद्धबारे पनि कौतूहल राख्दै उनले गाँस ननिलिकन सोधे, “उता युद्ध हुँदा यता ग्यास र पेट्रोल नपाइने भएछ, एक वर्षसम्मै युद्ध चल्यो भने त झन् के हुन्छ?” उनको यो प्रश्न सुन्दा सामान्य लागे पनि गम्भीर थियो।
साथै, युद्धरत क्षेत्रमा रोजगारीमा गएका नेपालीहरूको अवस्था के होला भन्ने चिन्ता उनको अनुहार र बोलीमा झल्किन्थ्यो। नयाँ बन्ने सरकारबाट देशमै रोजगारीको सुनिश्चितता होस् र परदेसिनु नपरोस् भन्ने उनको अपेक्षा छ।
“अहिले विदेशमा युद्ध भइरहेको छ, त्यहाँ कति नेपाली त मरिसके र घाइते भए भन्छन्, अब त्यस्तो खबर सुन्न नपरोस्,” उनी एकोहोरो बोलिरहे, “अब युवा विदेश नजाऊन्, आफ्नो गाउँमै केही गर्न मिलोस्।”
कोरोना महामारीअघि कमल काठमाडौँको होटल र्याडिसनमा सञ्चालित क्यासिनो र्याडमा भाँडा धुने काम गर्थे। त्यहाँ उनको तलब ५ हजारबाट बढेर २२ हजार पुगेको थियो। तर लकडाउनमा क्यासिनो बन्द भयो। लकडाउनपछि क्यासिनो बेसमेन्टमा सञ्चालन गर्नुपर्यो। केही समयमै त्यहाँ काठमाडौँ महानगरको डोजर पुग्यो, उनको जागिर छुट्यो।
त्यसपछि उनी घर बनाउने ठेकेदारको सम्पर्कमा आए। त्यसयता उनी निर्माण क्षेत्रमा विशेष गरी प्लम्बिङको काम गरिरहेका छन्। काठमाडौँमा यस्तो काम पाउन गाह्रो छैन। उनका अनुसार नियमित काम भए दैनिक ८०० रुपैयाँ र अपर्झट आइपरेको काम भए दिनको एक हजार रुपैयाँ ज्याला पाइन्छ। यसरी महिनाको २५–३० हजार रुपैयाँ कमाइ हुन्छ।
स्कुल नगए पनि उनी वित्तीय रूपमा साक्षर छन्। त्यसैले उनले दुवै छोरीको बीमा गरिदिएका छन्। वर्षको ६० हजार रुपैयाँ बीमा रकम जम्मा गर्छन्। उनले कोठाको भाडा तिर्नुपर्दैन। चिनजानका ‘काजीसाप’को घरमा बस्छन्। दुई छोरीलाई उनैले पढाइदिएका छन्।
“दुवै छोरीलाई घरबेटी काजीसापले पढाइदिनुभाछ, उनीहरूको स्कुलको खर्च लाग्दैन,” उनले भने, “मैले रक्सी र चुरोट पनि खान्नँ, त्यसैले कमाएको पैसा लगभग बचत हुन्छ।”
कमलले कहिल्यै वैदेशिक रोजगारीमा जाने सोचेनन्। उनलाई नेपालमा जति सजिलो र स्वतन्त्रता अन्यत्र छैन होला भन्ने लाग्छ। तर उनलाई अब काठमाडौँमै रहेर काम गरिरहनु पनि छैन। इँटा र सिमेन्टभन्दा आफूलाई ढुंगा, माटो र बोटबिरुवा मन पर्ने उनी बताउँछन्। त्यही भएर पनि उनलाई शहर मन पर्दैन। उनलाई लाग्छ, शहरमा घरहरूको खेती भएको छ।
“पहिले हामी सानो हुँदा धादिङबेँसीमा धानैधान हुन्थ्यो। मान्छे बिहानै उठेर कामको लागि खेतमा पुग्थे। अहिले त जताततै घरैघर छन्। धान फल्ने खेतमा घरहरूको खेती भएको छ,” उनले सुनाए, “बुढा बाआमालाई गाउँमा छाडेर छोराछोरीलाई शहरमा पढाउने अनि आफू विदेश जाने चलन साह्रै नराम्रो भयो।”
नयाँ बन्ने सरकारले यस्ता समस्या समाधान गर्ला भन्नेमा आशावादी रहेछन् उनी। उत्साहित हुँदै उनले भने, “नयाँले देश बनाउलान् है? त्यसो भए त म गाउँमै फर्किने हो।”
कुरा गरिरहँदा उनी घुमिफिरी गाउँकै प्रसंगमा पुग्थे। गाउँमा के छ त? भन्ने प्रश्नमा उनले खुशी हुँदै भने, “गाउँमा मेरो १२ रोपनी जग्गा छ। अब यो मजदुरी छाडेर त्यही जमिनमा कृषि गर्ने सोच छ।”

अहिलेसम्म किन नगरेको त? भन्ने प्रश्नमा उनले बाँदर र बँदेललगायत जनावरले दुःख दिने गरेकाले खेती गर्न नसकिएको बताए। साथै तार लगाएर घेरबार गर्न आफूसँग पैसा नहुने र सरकारसँग माग्दा ‘पावर’ नपुग्ने उनको गुनासो थियो।
“हाम्रो नेपालमा तलदेखि माथिसम्म एउटै नियम–कानुन भइदिए हुन्थ्यो नि, कसैलाई नियम लाग्छ, कसैलाई लाग्दैन,” अब बन्ने सरकारले सबैलाई समान व्यवहार गर्ने र त्यसबाट आफू पनि फाइदामा पर्ने उनको बुझाइ छ।
उनले थपे, “अहिले जो वास्तवमै कृषि गर्छ, उसले अनुदानै पाउँदैन तर जो नेताको चाप्लुसी गर्छ, उसले अनुदान कुम्ल्याउँछ। नियम बनेपछि त वास्तविक कृषक को हो भनी सरकारले छुट्याउला नि।”
उमेरले भर्खरै ४० कटेका कमलको घर नीलकण्ठ नगरपालिका–२ मा पर्छ। अहिलेका सांसदहरू पनि भर्खरका युवा भएकाले आफूजस्ता देशमै केही गरौँ भन्ने युवाको चाहना तथा रोजगारीको समस्या बुझ्लान् भन्नेमा उनी आशावादी देखिन्छन्।
त्यसैले नयाँ सरकारबाट उनले एउटै अपेक्षा गरेका छन्– गाउँमै कृषि गर्न चाहनेहरूलाई सहज बनाइदेओस्, तालिम, औजार तथा अनुदान प्रदान गरोस्। उनको अर्को चाहना छ– नयाँ नेपालमा मजदुरहरूलाई पनि सम्मान होस्।
“मजदुर भनेर कस्तो हेपेर कुरा गर्छन्, एकदमै तल्लो स्तरको सोच्छन्। काम त सबै काम होइन र?” खाजा खाएर निस्किँदै गर्दा उनी भन्दै थिए, “मजदुरले मेहनत अनुसारको कमाइ र सम्मान दुवै पायो भने कति राम्रो हुन्थ्यो!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
