मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबार छैटौँ पटक भारी हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ।

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। शुक्रबार अपराह्न ४:०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात शुरू भएको हो। मुस्ताङमा यस वर्ष कात्तिक १० गतेयता हालसम्म छैटौँ पटक हिमपात भएको छ।

वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिनाथ क्षेत्रमा निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको भुसालले बताए।

मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघि मात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको भुसालको भनाइ छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको उनले बताए।

त्यसैगरी, मुक्तिक्षेत्रका रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए। “मुक्तिक्षेत्रमा दिउँसोदेखि हिउँ पर्न थालेको छ, हिउँले पूरै क्षेत्र सेताम्मे भइसकेको छ”, ठकुरीले भने, “रातभरि हिउँ परेमा दुई फिटभन्दा बढी जम्ने देखिन्छ, यसले सडकसमेत अवरुद्ध हुन सक्छ।”

त्यस्तै, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने उनले बताए। हिमपातसँगै बढेको चिसोले माथिल्लो मुस्ताङका बासिन्दाको दैनिकीमा प्रतिकूल असर पुर्‍याएको पौडेलको भनाइ छ।

मुस्ताङको तल्लो क्षेत्र थासाङ र घरपझोङ गाउँपालिकाका उच्च लेकमा आंशिक हिमपात भइरहेको छ भने बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।