किसानहरूका अनुसार उत्पादन लिने समयमा केराका बोट ढलेपछि अहिले बगान सफा गर्न मजदुर लगाउनुपर्ने अवस्था आएको छ।
चितवन– हुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ। यही चैत २ गतेको हुरीले चार करोड रुपैयाँभन्दा बढीको केरा नष्ट भएको प्रारम्भिक तथ्यांक आएको हो।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरूको अनुगमन गरिएको छ। सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए।
हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३ तथा कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पुर्याएको छ। रेग्मीका अनुसार बगानमा एकदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ।
उनले भने, “एउटा फार्ममा ८८ प्रतिशतसम्म क्षति भएको पायौँ। सबैको अवस्था त्यस्तो छैन।” हुरीले मालभोग केरामा सबैभन्दा ठूलो क्षति पुर्याएको छ। मालभोगमा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए। समग्रमा ४३.३५ प्रतिशत केरामा क्षति भएको उनले बताए। कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ।
केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन्।” किसानले क्षतिपूर्ति पाउन कठिन हुँदा समस्या थपिएको उनले बताए।
उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन्। अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए। अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले चार करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै बीमा कम्पनीमा निवेदन बुझाएको उनले जानकारी दिए। थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकिन तथ्यांक आउन समय लाग्ने उनले बताए।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार चैत २ गतेको हुरीले जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ। अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। केरा सुपरजोनका रूपमा जिल्लामा काम भइरहेको बताउँदै उनले हुरीका कारण कति क्षेत्रफलको केरा नष्ट भयो भन्नेबारे संघले तथ्यांक संकलन गरिरहेको बताए।
केरामा हावाका कारण भएको क्षतिले किसानहरू चिन्तित भएको उनको भनाइ छ। गत वर्ष वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडै आउँदा ठूलो क्षति बेहोर्नु परेको उनले जानकारी दिए। उनले भने, “किसानले बिमा त गरेका छन्, तर बिमाबाट पाउने रकम ढिलो हुँदा उनीहरू निराश बन्दै गएका छन्।”
रत्ननगर नगरपालिका–११ का कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ। जग्गा भाडामा लिएर खेती गर्दै आएका भट्ट चैत शुरू भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताउँछन्। उत्पादन लिने समयमा केराका बोट ढलेपछि अहिले बगान सफा गर्न मजदुर लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले लगाएका अधिकांश केराका बोट ढलेका छन्।
प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्यांक छ। जिल्लामा व्यावसायिक रूपमा ७०० किसानले केराखेती गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
