विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति नलिई फुटबल लिग खेलाएको भन्दै एन्फालाई त्यस्ता गतिविधि रोक्न र कानूनी प्रक्रिया पुर्‍याउन निर्देशन दिएको छ।

काठमाडौँ— अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउँदा अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिन अनुरोध गरेको छ।

विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूलाई पर्यटक भिसामा आएका विदेशी खेलाडी समावेश नगराउन आग्रह गरेको हो।

“एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पुरुष लिग फुटबलमा सहभागी क्लबहरूले पर्यटक भिसामा रहेका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने उजुरी यस विभागमा प्राप्त भएको छ। तसर्थ, कुनै पनि खेलमा विदेशी खेलाडी समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ।

विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ। श्रम स्वीकृति नलिएका विदेशी खेलाडी भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।