चाँदी खोलामा अवैध बालुवा उत्खनन गर्ने ८ ट्याक्टरसहित चालक नियन्त्रणमा

रौतहटको चाँदी खोलामा अवैध बालुवा उत्खनन गरिरहेका ८ ट्याक्टर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

फाइल तस्वीर

रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहनमा संलग्नलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान चाँदी खोलाका दुई फरक स्थानमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठ वटा ट्याक्टर र तिनका चालकलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बिहीबार बिहान करिब ७:२० बजे चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्याक्टरहरूले बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो।

सूचना पाएलगत्तै सन्तपुर बेसका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वनाथ जिसीको नेतृत्वमा ११ जनाको विशेष टोली घटनास्थल परिचालन गरिएको थियो। टोली पुग्दा बगरमा केही ट्याक्टरमा बालुवा लोड भइरहेको र केही लोड गर्ने तयारीमा रहेको अवस्थामा फेला परेका थिए।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीका अनुसार अवैध उत्खननमा संलग्न आठ चालक र ट्याक्टरलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्ने चालकहरूमा दीपेन्द्र माझी, राहुल यादव र देवनाथ चौधरी रहेका छन्। त्यस्तै, अन्य चालकहरूमा करण चौधरी, रामायण पटेल, विवेक पासवान, मायालाल माझी र भुन्टा माझी रहेका छन्।

नियन्त्रणमा लिइएका सबै ट्याक्टर र चालकहरूलाई आवश्यक कानूनी कारबाही तथा जरिबानाका लागि चन्द्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सन्तपुर बेसले जनाएको छ।

स्थानीय प्रशासनले खोलाजन्य पदार्थको अवैध उत्खननमा कडाइ गरे पनि तस्करहरूले बिहान र रातको समय छोपेर दोहन जारी राखेको स्थानीय बासिन्दाको गुनासो छ। सशस्त्र प्रहरीले भने प्राकृतिक स्रोतको अवैध चोरी–निकासी रोक्न गस्ती र निगरानीलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।