केयूका सह–प्राध्यापक सुजन चित्रकारविरुद्ध लागेको यौन दुर्व्यवहार आरोप छानबिन गर्न माग

तीन महिनाभित्र आवश्यक कारबाही हुनेगरी सह–प्राध्यापक चित्रकारविरुद्ध लगाइएका आरोपहरूबारे तुरुन्तै अनुसन्धान शुरू गर्नुपर्ने उनीहरूको माग छ।

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका कला तथा डिजाइन विभागका सह–प्राध्यापक सुजन चित्रकारविरुद्ध लागेको यौन दुर्व्यवहार आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै कला तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूले विश्वविद्यालयसँग माग गरेका छन्। विद्यार्थी, पूर्वविद्यार्थी, कलाकार, लेखक, अनुसन्धानकर्मीलगायत ४ सयभन्दा बढीले निष्पक्ष छानबिनको माग गर्दै काठमाडौँ विश्वविद्यालय मानविकी संकायका कार्यकारी डिन डा. उद्धव प्याकुरेललाई खुला पत्र दिएका छन्।

तीन महिनाभित्र आवश्यक कारबाही हुनेगरी सह–प्राध्यापक चित्रकारविरुद्ध लगाइएका आरोपहरूबारे तुरुन्तै अनुसन्धान शुरू गर्नुपर्ने उनीहरूको माग छ।

नेपाली टाइम्समा प्रकाशित समाचारलाई आधार बनाउँदै अधिकारकर्मीहरूले विश्वविद्यालयमा उजुरीको गोपनीयता उल्लङ्घन भएको र पीडितलाई असुरक्षित बनाइएको आरोप लगाएका छन्। साथै, पीडितमाथि मानहानी मुद्दा दायर गरिनु कानूनी व्यवस्थाको नियोजित दुरुपयोग भएको उनीहरूले पत्रमा उल्लेख गरेका छन्।

त्यस्तै, पत्रमा विश्वविद्यालयभित्र सुरक्षित उजुरी संयन्त्रको अभाव रहेको उल्लेख गर्दै ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१’ अनुसार तुरुन्तै नीति लागू गर्न, आरोपबारे निष्पक्ष छानबिन गर्न तथा पीडितका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरिएको छ।