इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको पनि मृत्यु भएको पुष्टि

इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र देशका रक्षामन्त्री नासिरजादेहको यसअघि नै मृत्युको पुष्टि भइसकेको छ।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्ना गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको पुष्टि गरेका छन्। यसअघि इजरायलले खातिब हिजो राति हवाई आक्रमणमा मारिएको बताएको थियो।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट साझा गर्दै मसूद पेजेश्कियानले भने, "मेरा प्रिय सहकर्मी इस्माइल खातिब, अली लारिजानी र अजिज नासिरजादेहको कायरतापूर्ण हत्या, साथै उनीहरूका परिवारका केही सदस्यहरू र उनीहरूसँग रहेकाहरूको मृत्युले हामीलाई गहिरो शोकमा पारेको छ।"

इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र देशका रक्षामन्त्री नासिरजादेहको यसअघि नै मृत्युको पुष्टि भइसकेको छ।
यसैबीच, बुधबार दिउँसो इजरायल रक्षा बल (आईडीएफ)ले इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको हत्याको बारेमा थप जानकारी साझा गरेको थियो।

आईडीएफले खातिबको गुप्तचर मन्त्रालयले इरानी सरकारको दमनकारी र आतंकवादी गतिविधिहरूलाई समर्थन गर्न प्रमुख भूमिका खेलेको दाबी गरेको छ। साथै हालैका प्रदर्शनहरूमा भएको दमनको क्रममा प्रदर्शनकारीहरूको गिरफ्तारी र हत्यामा खातिब आफैंले मुख्य भूमिका खेलेको आईडीएफको दाबी छ।

इरानका गुप्तचर मन्त्री इस्माइल खातिबलाई पूर्व राष्ट्रपति इब्राहिम रईसीले २०२१ मा नियुक्त गरेका थिए। ​​​​​​​खातिबले इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित धेरै प्रमुख धार्मिक व्यक्तित्वहरूबाट इस्लामिक कानूनको अध्ययन गरेका थिए।

सन् २०२२ मा, अमेरिकी ट्रेजरी विभागले अमेरिका र यसका सहयोगीहरू विरुद्ध साइबर गतिविधिहरूमा संलग्न भएको आरोपमा खातिबलाई प्रतिबन्ध लगाएको थियो।