बालेनले ल्याएको तरङ्ग

बदलिँदो विश्व परिवेश र युद्धग्रस्त पश्चिम एसियाको प्रभावले लाखौँ नेपालीको रोजगारीको गन्तव्य स्थलमा तिनको सुरक्षा र रोजगारीको भरथेगका लागि अबका सरकारले के कस्तो पहल गर्ला?

प्रतिनिधिसभा निर्वाचनको ठिक दस दिनअघि मधेस झर्दा साँझको पाँच बज्न लागेको थियो। फागुनको अन्तिम सातातिर पनि तुवाँलोले ढाकेको आकाश र चिसो बसन्ती बयारले मधेसलाई चिस्याइ नै रहेको थियो। बिहानको करिब ९ बजेको हुँदो हो, सूर्यदेवको दर्शनसँगै ससुरा बुवालाई सोधेँ, "बुवा के कस्तो छ यसपालि चुनावी माहौल?" गम्भीर भएर उहाँले भन्नुभयो "तिमीलाई त थाहा हुनुपर्ने हो।" मेरो जिज्ञासा यति मात्रले शान्त भएन र थपेँ, "हजुरले त पहिलाकै पार्टीमा भोट हाल्ने होला नि!"  झर्किँदै भन्नु भो, "ना… हुनै सक्दैन!" 

बुवाको प्रस्ट र संक्षिप्त उत्तरपछि केही बोल्नु या थप्नु औचित्यपूर्ण लागेन। यसै पनि मतदान भनेको गोप्य दान हो। यस विषयमा एउटा शिक्षित र राजनीतिक रूपमा सचेत वयोवृद्धलाई धेरै केरकार गर्नु ठिक लागेन। बुवाले यसपालि आफ्नो मत बदल्ने दृढ निश्चय गरी सक्नु भएको थियो। यो निर्णय एउटा ८७ वर्षीय वयोवृद्ध बुवाको मात्र थिएन, शायद देशका धेरै बुवा र आमाको थियो। वैदेशिक रोजगारीमा होमिएका लाखौँ युवाको आमाबाबाको थियो।

हातहातमा मोबाइल बोकेका ती महिलाहरूको थियो, जसका पति यौवनको उर्वर कालमा नै बिदेसिनु परेको थियो। देशभित्र समयमा मल नपाएर पाँच किलो मलका लागि भारतीय एसबीआइको डन्डा खाने किसानहरूको थियो। परिवर्तनको सपना बोकेका लाखौँ युवाको थियो। बडो गजबको चुनावी माहौल थियो यसपालि, जसमा तोते बोली बोल्न लागेका काखे बालकले समेत 'बालम बालम' भन्दै रटान लगाएका थिए। जनजनको मनमा घण्टी बजी रहेको थियो। गाउँदेखि सहर, चोक, चौतारा र चिया पसल जहाँसुकै बालेन र घण्टीकै लहर थियो। 

माघ ४ गते रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि त्यसको भोलिपल्ट अर्थात् माघ ५ गते जनकपुरको तिरहुतिया गाछीमा पार्टीले आयोजना गरेको सभामा बालेन मधेशी पुरुषले लगाउने कुर्ता पाइजामामा मात्र ठाँटिएनन्, पहिलो पल्ट सार्वजनिक रूपमा मैथिली भाषामा संक्षिप्त र अर्थपूर्ण भाषण गरेर आम मधेशी जनताको मन जिते। उनको त्यही पहिलो मैथिली भाषणले बालेन ठकुरी शाह हुन् कि मधेसका साह भन्ने दुबिधामा रहेका आम मधेसीको आशंका पनि  दूर भयो।

संयोग कस्तो थियो भने माघ ५ गते मधेसले बलिदानी दिवस मनाई रहँदा त्यसै दिन बिहान बालेन सिराहा पुगेर मधेस आन्दोलनका क्रममा शहीद भएका रमेश महतोलगायत शहीदहरूको सालिकमा माल्यार्पण गरी सम्मान मात्र प्रकट गरेनन्, दिउसो चुनावी सभामा प्रादेशिक संरचनाहरूलाई अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनु पर्छ भन्दै संघीयताप्रति प्रतिबद्धता जनाए। काठमाडौँलाई मधेसीहरूको तीर्थस्थलको रूपमा चित्रण गर्दै सरकारी कामकाजका लागि समेत काठमाडौँ धाइराख्नुको औचित्य ठानेनन्।

बालेनको उक्त भाषणले रास्वपा संघीयताविरोधी नभई बरु संघीय संरचनालाई थप बलियो बनाउँछ भन्ने विश्वास आम मधेसीमा भयो। मधेस हाम्रै विरासत हो र संघीयताको मुद्दा मधेसवादी दलहरूको एकल हो भन्ने निश्चिन्त बसेका मधेसवादी दलहरूलाई यसपालि बालेन फ्याक्टरले धरातलमा नै पुर्‍याइदियो। साथै सुक्दै गएको नेपाली कांग्रेसको उर्वर भूमि मधेसलाई हराभरा बनाउने प्रयत्नमा लागेका सभापति गगन थापालाई नराम्ररी हार मात्र बेहोर्नु परेन, प्रतिनिधिसभाको प्रतक्ष्यतर्फ मधेसमा एक सिटमा मात्र खुम्चिनु पर्‍यो।

२०६३ को माघे मधेस आन्दोलनपछि मधेशको मुद्दालाई लिएर  अनेक पार्टीहरू गठन भएका थिए। गुट उपगूट र फुटले मधेसवादी दलहरूको अस्तित्व नै संकटमा परी रहेको थियो। यस्तो बखत मधेशी जनताले बालेन जत्तिको सामर्थ्यशाली प्रतिनिधि कसैलाई देखेनन्। एउटा यस्तो सर्वस्वीकार्य, जनप्रतिनिधि जसले मधेसलाई काठमाडौँसित मात्र होइन, सम्पूर्ण देशसित जोड्न सक्छन् भन्नेमा विश्वस्त भए मधेशी जनता।

मैथिलीमा बोल्दै आफूलाई 'मधेसकै छौडा (सन्तान) हूँ' भन्ने बालेनको सार्वजनिक स्वीकारोक्तिपछि मधेशको छौडालाई प्रधानमन्त्री बन्ने यो अवसरलाई  मधेशी जनताले गुमाउन चाहेनन्। यथार्थ त के हो भने विगत केही यता मधेशी राजनीतिमा फस्टाउँदै गएको जातीय दायरलाई समेत यसपालि मधेशी मतदाताले चिरेका छन्। बालेन फ्याक्टरको प्रभावले मधेसमा जरो गाडेको सामुदायिक र जातीय घेरासमेत तोडेको छ। मधेसका कुलीन मानिने वर्गदेखि दलित सम्मको मत बालेनको पक्षमा गएको छ। यही बालेन फ्याक्टरले गर्दा मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा ३० वटामा र (एउटा अझै विवादितझैँ) रास्वपाले जित हात पारेको छ भने समानुपातिकमा समेत सर्वाधिक मत मधेसबाट नै प्राप्त गरेको छ।    

२०७९ को प्रतिनिधिसभा निर्वाचनभन्दा करिब ६ महिना अगाडि मात्र नयाँ शक्तिको रूपमा उदाएको  रास्वापाले पहिलो निर्वाचनमा नै २१ सिटमा विजय हासिल गर्दा उक्त पार्टीको भविष्य के होला भन्ने एकथरी विश्लेषकहरूको आँकलन थियो। तर  अर्को थरीले अन्य नयाँ शक्तिहरूझैँ रास्वपाको पनि हविगत होला भन्ने आशंका व्यक्त गर्दै थिए। तर माघ ४ गते रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार नै तोकेर पार्टीमा वरिष्ठ नेताको रूपमा स्वागत गरेपछि मधेस मात्र होइन, देशभरि नै बालेन र घण्टीको लहर अप्रत्याशित रूपमा देखिन थाल्यो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बालेन जहाँ पुगे, उनको स्वागत र समर्थनमा उर्लेको जनमत आजसम्म नेपालको इतिहासमा कुनै राजनीतिक प्रतिनिधि या उम्मेदवारको पक्षमा  देखिएन। बालकदेखि वयोवृद्ध सम्मको जिब्रोमा बसे बालेन। उनको यही क्रेजले आज रास्वपालाई दुई तिहाइ बहुमत बटुल्न सफलता दिएको छ। यस पालिको मत परिणामले विद्यमान निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलले  बहुमत ल्याउन  नसक्ने भन्दै त्रुटि देखाउने  संविधानविद्हरूलाई समेत  गिज्याएको छ। 

पेसाले सिभिल इन्जिनियर र र्‍यापरको रूपमा नेपाली युवामाझ लोकप्रिय बालेनले २०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवार भएर विजय हासिल गरेपछि बालेनको पहिचान र लोकप्रियताको दायरा फराकिलो बन्दै गएको हो। काठमाडौँको मेयरका रूपमा करिब साढे तीन वर्ष गरेका पहललाई जनताले रुचाए। यद्यपि,  यस क्रममा उनले केही आलोचनासमेत नखेपेका होइनन्। निजी विद्यालयमा समेत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गराए।

काठमाडौँको रैथाने नेवारी कला र संस्कृतिलाई झल्काउने गरी भित्ताभित्तामा कोर्न लगाएका चित्रले नेवारी समुदायको मात्र मन जितेन, विदेशी पर्यटकलाई समेत आकर्षित गरे। थोरै समयमा उनको फरक कार्यशैलीको चर्चा देशमा मात्र होइन, विदेशमा समेत हुन थाल्यो। बालेन शैलीले काठमाडौँवासीलाई यति विश्वस्त बनायो कि काठमाडौँका दस वटा निर्वाचन क्षेत्रमा मात्र होइन, बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटामा रास्वपाले जित हासिल गर्‍यो। सबभन्दा बढी शिक्षित र राजनीतिक रूपले सचेत बागमती प्रदेशका जनताले बालेनलाई नै रुचाए।

भदौ २३ को जेनजी आन्दोलन र भदौ २४ गते भएको विध्वंसलाई समर्थन गरेपछि बालेन झन् चर्चामा आए। आन्दोलनपछि उत्पन्न असहज परिस्थितिमा सरकार गठनदेखि संसद् विघटनको विषयमा समेत बालेनले चासो देखाए। जेनजी समूहले उनलाई नै देशको नेतृत्व गर्न आग्रह गरे, तर उनले प्रधानन्यायाधीश  सुशीला कार्कीको नाममा समर्थन जनाउँदै आफ्नो राजनीतिक भविष्य सुरक्षित राखे। र, फागुन २१ गते सम्पन्न निर्वाचनमा बालेनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार मात्रै भएनन्, नेपालको संसदीय इतिहासमा नै ६८ हजार भन्दा बढी मत पाएर पूर्वप्रधानमन्त्रीविरूद्ध जित निकाले। केपी ओलीको चुनाव क्षेत्रलाई नै आफ्नो चुनावी मैदान बनाउनु बालेनको लागि सिंहको खोरमा हात हाल्नु थियो, तर उनको अटल विश्वास र जनताको साथले उनलाई केपी शर्मा ओली भन्दा ५० हजारको मतान्तरले विजय हासिल गराई इतिहास रच्ने अवसर  प्रदान गरेको  छ।  

बालेनको अभ्युदयले नेपाली राजनीतिमा नयाँ युगको सुरुवात भएको छ। पहिलो चोटि संसदमा धेरैजसो युवा पुस्ता र  नयाँ अनुहारको प्रवेशले अब नेपालको राजनीतिक भविष्य कस्तो होला भन्ने सर्वत्र चासोको विषय बन्न पुगेको छ। दुई तिहाइको हाराहारीमा जनमत प्राप्त रास्वपा नेतृत्वको सरकारको मधेस प्रतिको दृष्टिकोण कस्तो होला? राजनीतिक र कूटनीतिक सम्बन्धहरूको सन्तुलन कसरी बनाएर राख्ला? जेनजी युवाले उठाएका सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि के कस्ता पहलहरू प्रारम्भ गर्ला? कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले कति सक्रियता देखाउला?

बदलिँदो विश्व परिवेश र युद्धग्रस्त पश्चिम एसियाको प्रभावले लाखौँ नेपालीको रोजगारीको गन्तव्य स्थलमा तिनको सुरक्षा र रोजगारीको भरथेगका लागि अबका सरकारले के कस्तो पहल गर्ला? नेपाली बजारमा यतिखेर नै इन्धन र खाना पकाउने ग्यासको अभाव देखिन थालेकोले त्यसको विकल्प अब के कसरी खोज्ला? यीलगायत कैयौँ सवाल यतिखेर नेपाली समाजमा उठ्न थालेका छन्। निश्चय पनि, जहाँ धेरै लगानी हुन्छ त्यहाँ अपेक्षा पनि त्यति नै धेरै हुन्छ। त्यसैले भोलि बन्ने बालेन नेतृत्वको सरकारले पाइलापाइलामा चुनौती खेप्नुपर्ने देखिन्छ। तर ती चुनौती बिच पनि अब बन्ने सरकारले आफूलाई प्रमाणित गर्ने र  स्थायित्व प्राप्त गर्ने 'गोल्डेन पिरियड' हो यो। रास्वपाले जन अपेक्षाअनुसार काम गर्न सके भोलि एकछत्र देश हाँक्ने ल्याकत राख्न सक्छ। अन्यथा अन्य दलझैँ यो पनि खुम्चन बेर छैन। रास्वपाले पाएको यो अपार जनसमर्थनलाई बालेनको नेतृत्वमा सावधानीपूर्वक उपयोग गर्न सकुन्। शुभकामना। 

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)