इरानी आक्रमणबाट यूएईमा मृत्यु हुनेको संख्या ७ पुग्यो, १४५ घाइते

इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता यूएईमा सात जनाको मृत्यु हुनुका साथै १४५ जना घाइते भएका छन्।

इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई)मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ।

मृत्यु हुनेमा दुई जना सैनिक र पाँच जना सर्वसाधारण छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार, उक्त अवधिमा यूएईको सुरक्षा बलले इरानबाट प्रहार गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोनलाई बीचमै रोकी नष्ट गरेको छ।

सोमबार मात्रै ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरी गरिएको आक्रमणबाट अबू धाबी, दुबई, फुजैराह र उम्म अल-क्वेन क्षेत्रमा क्षति पुगेको छ। अबू धाबीको अल-बह्याह क्षेत्रमा मिसाइल लागेर एउटा नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

त्यस्तै, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको ड्रोन आक्रमणका कारण इन्धन ट्याङ्कमा आगलागी भएको र केही समयका लागि उडान सेवा समेत प्रभावित भएको थियो। फुजैराहको तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ। रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको स्पष्ट पारेको छ।