कांग्रेसले टुंग्यायो समानुपातिकतर्फका २० सांसदको नाम

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमार्फत प्राप्त २० सिटका लागि सांसदहरूको नाम टुंगो लगाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्राप्त २० सिटका लागि सांसदको नाम टुंगो लगाएको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फका सांसदहरूको नाम अनुमोदन गरेको हो।

निर्वाचन आयोगको नियम तथा संवैधानिक व्यवस्थाअनुसार कुल २० सिटमध्ये १५ जना महिलाको सहभागिता अनिवार्य गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले १५ जना महिला अनिवार्य गरिएको उनको भनाइ छ।

प्रवक्ता चालिसेका अनुसार, गत निर्वाचनमा पार्टीले प्राप्त गरेको कुल सदर मत एक करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेसले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो। प्राप्त मतका आधारमा कांग्रेसले २० सिट प्राप्त गरेको हो। उम्मेदवार छनोट गर्दा पार्टीले आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६ जनासहित थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी क्लस्टर मिलाइएको छ।

पार्टीको बन्दसूचीका आधारमा नै निर्णय गरिएको र निर्वाचन आयोगले रुजु गरिसकेपछि अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिए। कांग्रेसले आइतबार नै सो नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।