यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ, जसमा एक पुरुष र ३ महिला रहेका छन्।

काठमाडौँ– श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक तर्फका सिफारिस गरेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय कार्य समितिको निर्णयअनुसार विधान, योग्यता र क्षमताका आधारमा उम्मेदवार छनोट गरिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए। छनोट गरिएका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले जनाएको छ।

पार्टीले समानुपातिकतर्फ चार जना उम्मेदवार सिफारिस गरेकोमा एक पुरुष र ३ महिला रहेका छन्। सिफारिस हुनेहरूमा आदिवासी जनजातितर्फबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिका देवी संग्रौला, दलित समुदायबाट राधिका रम्तेल र मधेसी समुदायबाट रुबीकुमारी ठाकुर रहेका छन्।

निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभाको समानुपातिक तर्फको सिट बाँडफाँट गर्दै ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूलाई उम्मेदवारको नामावली पेश गर्न निर्देशन दिएसँगै दलहरूले नाम सार्वजनिक गरिरहेका छन्।