कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

काठमाडौँ- नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली  भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
 
त्यस्तै, आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका  थोरै स्थानहरूमा तथा पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।