चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

देशका विभिन्न भागमा मौसममा आएको बदलीसँगै बिहीबार चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– मौसममा आएको बदलीसँगै बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस्तै, गोरखामा ८० मिलिमिटर र चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। मौसम विज्ञानको मापदण्डअनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई 'भारी वर्षा' मानिन्छ। विभागका अनुसार उदयपुरको कटारी र गोरखाको बारपाक क्षेत्रमा उच्च वर्षा भएको छ।

वर्षा अन्य क्षेत्रमा पनि भइरहेको विभागले जनाएको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया र कास्कीलगायतका जिल्लामा पनि वर्षा भएको छ।

यस वर्षाका कारण वायुमण्डलमा रहेको प्रदूषणमा केही कमी आउने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।