अफ्रिकन स्वाइन फ्लुको संक्रमणले पर्वतमा ४६ वटा बङ्गुर मरे

पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ।

काठमाडौँ- पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ।  अफ्रिकन स्वाइन फ्लुका कारण पर्वमा मात्रै ४६ वटा बङ्गुर मरेका छन्। 

सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएपछि किसान तथा बङ्गुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आग्रह गरेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

नमूना संकलन गरिएको र्‍यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको पशु सेवा कार्यालयले जनाएको छ ।

शंकास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जंगली बङ्गुरसँग सम्पर्क हुन नदिन   पशु सेवा कार्यालयले आग्रह गरेको छ।