प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ रास्वपाले कटायो ५१ लाख मत

समानुपातिकतर्फ रास्वपाले ५१ लाख मत कटाउँदा नेपाली कांग्रेसले १७ लाख र एमालेले १४ लाख मत प्राप्त गरेका छन्।

काठमाडौँ– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। मंगलबार बेलुका ९ः३० बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख मत कटाएको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरणअनुसार देशभरका मतगणनास्थलबाट प्रणालीमा प्रविष्ट भएको कुल १ करोड ६ लाख ५६ हजार ६७७ मतमध्ये रास्वपाले ५१ लाख ६ हजार ८६८ मत प्राप्त गरेको हो।

हालसम्मको समानुपातिक मतपरिणामअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ३२ हजार ५१ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १४ लाख ३९ हजार ९३७ मत पाएको छ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ९३ हजार ३१६ मत, श्रम संस्कृति पार्टीले ३ लाख ७२ हजार ९२१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २८ हजार ३८६ मत प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ रास्वपा १२५ स्थानमा विजयी भएको छ। त्यसैगरी, नेपाली कांग्रेस १८, एमाले ९, नेपाल कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिटमा विजयी भएका छन्। बाँकी १ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।