नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा असईविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा सुनसरी प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

फाइल तस्वीर

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय, सुनसरीको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मुक्तनारायण श्रेष्ठविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ। आयोगले मंगलबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, श्रेष्ठले आफ्नो पदोन्नति प्रयोजनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई), दिल्लीबाट जारी भएको भनिएका शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेका थिए। 

अख्तियारको अनुसन्धानका क्रममा श्रेष्ठले सन् १९९९ को ‘अल इन्डिया सिनियर स्कुल सर्टिफिकेट एक्जामिनेसन’को नक्कली मार्कसिट र माइग्रेसन प्रमाणपत्र पेश गरेको खुलेको हो। तिनै नक्कली प्रमाणपत्रका आधारमा प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भई उनले हालसम्म सरकारबाट तलब, भत्ता र अन्य सुविधा लिँदै आएका थिए।

सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाही गर्न मागदाबी गरिएको छ। उक्त दफाअनुसारको कसुरमा उनलाई कैद र जरिबानाको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।