मध्यपूर्वमा जारी तनावले तेल आपूर्ति मार्ग प्रभावित हुँदा एशियाका विभिन्न देशमा इन्धनका लागि सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने र कतिपय स्थानमा हिंसात्मक झडपसमेत हुन थालेको छ।
मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एशियाका विभिन्न देशमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ। बांग्लादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ।
तेल आयातमा अत्यधिक निर्भर बांग्लादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ। इन्धन अभावको आशंकासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पमा लामो लाइन देखिएको छ। सुरक्षा व्यवस्था कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ।
ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकले स्टेसनमा तोडफोड गरेको बताए। उनका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो।
मंगलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो।
१७ करोड जनसंख्या भएको बांग्लादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन रासनिङ शुरू गरेको छ। ऊर्जा अभावका कारण विद्यार्थीलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने दीपप्रज्वलन तथा उज्यालो प्रदर्शनहरू पनि रद्द गरिएको छ।
यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। २५ वर्षीय युवकको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो।
ढाकाको सिटी सेन्टरमा मंगलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो। गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्ना मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताए।
पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ। “खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ”, उनले भने।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मंगलबार तेलको मूल्य केही घटेको छ। तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो। यो मूल्य सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि देखिएको उच्च स्तर हो।
इरानले मिसाइल र ड्रोन आक्रमणमार्फत खाडी क्षेत्रलाई लक्षित गरेपछि बजारमा अस्थिरता बढेको हो। युद्ध शुरू भएयता होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पनि प्रभावित भएको छ। विश्वको करिब पाँचौँ भाग कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर विश्व बजारमा देखिएको छ।
इन्धन संकटको असर अन्य एशियाली देशमा पनि देखिन थालेको छ। भियतनाममा मंगलबार हजारौँ मोटरसाइकल चालक पेट्रोलका लागि लाममा उभिएका थिए। त्यहाँ अनलिडेड पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ।
यद्यपि सरकारले आयातित पेट्रोलियम उत्पादनमा लगाइने शुल्क हटाएपछि भियतनाम ठूलो अभावबाट भने हालसम्म जोगिएको छ। हनोईका ५७ वर्षीय तुआन नामका एक व्यक्तिले पेट्रोलका लागि लामो समय पर्खनु परेपछि आफू निकै निराश भएको बताए।
उनका अनुसार करिब एक घण्टा लाइनमा बसेपछि पालो आउँदा पम्पको प्रणाली बन्द भएको जानकारी दिइएको थियो, जसका कारण धेरै चालक निराश भएर फर्किएका थिए।
फिलिपिन्समा पनि यस हप्ता पेट्रोल पम्पमा गाडीको लाम देखिएको छ। अधिकारीहरूले इन्धन भण्डारण नगर्न चेतावनी दिएका छन् भने पाकिस्तान र श्रीलंकामा पनि यस्तै दृश्य देखिएका छन्।
मेट्रो मनिलाका ग्यास स्टेसन परिचारक एनरिको गुडाका अनुसार मूल्य अझ बढ्ने आशंकामा मानिस हतारिएर इन्धन भर्न थालेपछि दैनिक कामको भार दोब्बर भएको छ।
म्यान्मामा अवस्था अझ कठिन देखिएको छ। आफ्नो इन्धनको करिब ९० प्रतिशत आयात गर्ने यस देशमा पहिले नै गृहयुद्धका कारण ऊर्जा आपूर्ति कमजोर थियो। तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन सडकमा नचलाउने व्यवस्था लागू गरेको छ।
कार भाडामा दिने व्यवसायी ५६ वर्षीया ह्ला हतेले यस्तो नियमले गाडीमा निर्भर चालकलाई व्यवसाय सञ्चालन गर्न कठिन बनाएको बताइन्।
म्यान्माको सीमावर्ती सहर टाचिलिकमा थाइल्यान्डबाट हुने आपूर्ति घटेपछि केही पेट्रोल पम्प बन्द भएका छन्। त्यहाँ गत हप्ता इन्धनको मूल्य तीन गुणासम्म बढेको थियो।
यद्यपि जापान, इन्डोनेसिया, चीन, भारत र अफगानिस्तानजस्ता केही देशमा भने हालसम्म व्यापक संकट देखिएको छैन।
सियोलका ४२ वर्षीय व्यापारी ली इन–टेले भने सावधानीस्वरूप आफूले पहिलेभन्दा बढी पटक इन्धन भर्न थालेको बताए। “पहिले हप्तामा एक पटक गाडीमा इन्धन हाल्थेँ, तर अब सस्तो पम्प देख्नेबित्तिकै भर्ने प्रयास गर्छु”, उनले भने। –रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
