रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्। उनले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री मोदीले नेपालको हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गरेका हुन्। उनले चुनावी विजयका लागि लामिछाने र शाहलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि बधाई दिएँ। उनीहरूको आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्दै हाम्रा दुई देशको पारस्परिक समृद्धि, प्रगति र हितका लागि सहकार्य गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।”

साथै, संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध थप सुदृढ भई नयाँ उचाइमा पुग्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।