प्रतिनिधिसभा निर्वाचन: काठमाडौँमा आठ हजार १९७ मत बदर

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ भने देशभर बदर मतको दर तीनदेखि चार प्रतिशत रहने निर्वाचन आयोगको अनुमान छ।

फाइल तस्वीर

काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको जिल्ला काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ। उक्त क्षेत्रमा ८३ हजार ३०१ मतदाता रहेकामा ६० हजार ४४१ मत खसेको थियो, जसमध्ये ५९ हजार २१५ मत सदर भएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ। कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेकामा ५१ हजार ८०७ मत सदर भएको थियो। क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ। त्यहाँ ५७ हजार ८११ मतदाता रहेकामा ३७ हजार ७९४ मत खसेको र त्यसमध्ये ३७ हजार १७१ मत सदर भएको थियो।

निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ। ६८ हजार ६८५ कूल मतदाता रहेको उक्त क्षेत्रमा ४४ हजार ८५७ मत खसेकामा ४४ हजार ५२ मत सदर भएको थियो। क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ। ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेकामा ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ।

निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ। कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेकामा ५१ हजार ६७ मत सदर भएको थियो। क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ। ७६ हजार २५१ कूल मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेकामा ५० हजार १०१ मत सदर भएको छ।

निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ। ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेकामा ४३ हजार २५० मत सदर भएको थियो। क्षेत्र नं २ मा एक हजार ९५ मत बदर भएको छ। ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेकामा ५८ हजार ३४६ मत सदर भएको थियो। निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ। ५५ हजार २९२ मतदाता रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेकामा ३१ हजार ८८० मत सदर भएको छ।

देशभर कति मत बदर भयो भन्ने विषय मंगलबार सबै मतगणना सकिएपछि मात्र यकिन हुने आयोगले जनाएको छ। अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार, सोमबार बेलुकीसम्म समानुपातिक प्रणालीतर्फ ९६ लाख ८७ हजार मतगणना सकिएको छ।