गौरादहका नगरप्रमुखमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई आफ्नै घरमा गई दुर्व्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ का ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुर्व्यवहार गरेका थिए।

पक्राउ परेका सिटौलालाई सोमबार जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएको थियो। उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत 'अभद्र व्यवहार' कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान शुरू गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।