सर्वोच्च अदालतले रास्वपाका किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशबारे छलफलका लागि आगामी फागुन २९ गते पेसी तोकेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साह ‘कमल’को उम्मेदवारी खारेजीको निर्णयविरुद्ध परेको रिट निवेदनमा निर्वाचन आयोगलगायतका विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार विपक्षीहरूलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
साहले धनुषा क्षेत्र नम्बर १ बाट रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए। तर, साहको कम्पनी कालोसूचीमा रहेको देखिएपछि निर्वाचन आयोगले फागुन १८ गते उनको उम्मेदवारी रद्द गरिदिएको थियो। त्यसपछि साहले निर्वाचन आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
साथै, अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न आगामी फागुन २९ गतेका लागि पेशी तोकेको छ। उक्त दिन विपक्षी निर्वाचन आयोगलाई निवेदकको उम्मेदवारी खारेजीसम्बन्धी निर्णयको सक्कल फाइलसहित उपस्थित हुन पनि अदालतले निर्देशन दिएको छ।
आदेशमा भनिएको छ, “विषयवस्तुको संवेदनशीलता र गम्भीरतालाई विचार गर्दा, यस रिट निवेदनमा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त देखिन्छ। तसर्थ, सो प्रयोजनका लागि आगामी फागुन २९ गतेलाई प्राथमिकतामा राखेर पेशी तोक्नू। साथै, उक्त छलफलका लागि विपक्षी आयोगले मिति २०८२ फागुन १८ गते निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धमा गरेको निर्णयसहितको फाइल लिई उपस्थित हुनू भनी विपक्षीहरूलाई यथाशीघ्र जानकारी गराई नियमानुसार पेश गर्नू।”
यसअघि, निर्वाचन आयोगले अदालतबाट अर्को आदेश नभएसम्म सम्बन्धित निर्वाचन क्षेत्रको मतगणना परिणाम घोषणा नगर्न/नगराउन सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
