इरानको आक्रमणमा ज्यान गुमाएका दिवसको शव नेपाल ल्याइयो

अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव नेपाल ल्याई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गोरखा– संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा भएको इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव शनिबार नेपाल ल्याई अन्त्येष्टि गरिएको छ। अबुधाबीस्थित नेपाली दूतावासको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो।

श्रेष्ठको पशुपति आर्यघाटमा शनिबार नै अन्त्येष्टि गरिएको भीमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। २९ वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गत आइतबार निधन भएको थियो।

अबुधाबीमा रहेको मिडिल इस्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत श्रेष्ठ तीन वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएका थिए। गत असोजमा बिदामा नेपाल आएर उनी पुनः दुबई फर्किएका थिए। मृतक श्रेष्ठका बुबा, आमा र एक बहिनी छन्।