कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन्।

कास्की– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्। शनिबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारहरूले कास्कीका तीनवटै क्षेत्रमा फराकिलो मतान्तरसहित जित हासिल गरेका हुन्।

कास्की क्षेत्र नं १ मा रास्वपाका खड्कराज पौडेल ‘गनेस’ ३९,८८३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११,२१४, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १०,४२९ र नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङले २,४७९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेल ३१,९११ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले ७,४९३ र नेपाली कांग्रेसका माधव बास्तोलाले ६,५०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिएका छन्।

कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७,७५० मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२,७८० र एमालेका दामोदर पौडेलले ७,९०६ मत प्राप्त गरेका छन्।

कास्कीमा कुल ३,०८,५७२ मतदाता रहेकामा १,८८,०७६ मत खसेको थियो। प्रदेश निर्वाचन कार्यालयका अनुसार, कास्की–१ मा ७०,१५०, कास्की–२ मा ५२,५१९ र कास्की–३ मा ६५,४०७ मत खसेको थियो।