खोटाङमा श्रम संस्कृति पार्टीलाई पछ्याउँदै एमाले, रास्वपा उम्मेदवार चौथो स्थानमा

प्रतिनिधिसभाको एकल निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलाई नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले पछ्याइरहेका छन्।

फाइल तस्वीर

खोटाङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राखेका छन्। शनिबार अपराह्न ४ बजेसम्म कुल २८ हजार ८२२ मत गणना हुँदा राईले ७ हजार १२२ मत प्राप्त गरेका हुन्।

राईलाई नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले पछ्याइरहेका छन्। उनले पाँच हजार ८४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले पाँच हजार ५७५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का डा. हरि रोकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले २ हजार ५५५ र जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६ मत प्राप्त गरेका छन्।

कार्यालयका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले ४४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चन्द्र बुढाथोकी ‘शैलेस’ ले ९९, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १७, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ३६२, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११ र मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले १२ मत प्राप्त गरेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवारहरू डा. राजकुमार राईले २० र तीलकचन्द्र राईले २४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन्।

मतगणना गरिएकामध्ये १ हजार ९०५ मत बदर भएको छ। बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई वा सोभन्दा बढी छाप लगाइएको पाइएको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको जिल्लामा ६३ हजार ०३५ मत खसेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए। १ लाख ४७ हजार १२० मतदाता रहेको यस जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत मत खसेको थियो।