२४ निर्वाचन क्षेत्रको मत परिणाम आउँदा १८ मा रास्वपा विजयी

बिहान ७ बजेसम्म रास्वपाले १८ क्षेत्रमा जित हासिल गर्दा कांग्रेसले ४ तथा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले १/१ स्थानमा जित हात पारेका छन्।

फाइल तस्वीर

काठमाडाैँ– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर २४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।

बिहान ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ क्षेत्रमा जित हासिल गर्दा कांग्रेसले ४ तथा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले १/१ स्थानमा जित हात पारेका छन्।

मोरङ क्षेत्र नं ४ बाट रास्वपाका सन्तोष राजवंशीले निकट प्रतिस्पर्धी कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरेका छन्। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए।

यस्तै, मोरङकै क्षेत्र नं ६ बाट रास्वपाकै रुबिना आचार्य विजयी भएकी छन्। कांग्रेसका डा शेखर कोइराला पराजित भएका छन्। आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याए।

काठमाण्डाैँका ९ वटा निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारिसकेको छ। 

काठमाडौँ क्षेत्र नं. ९ मा रास्वपाका डोलप्रसाद अर्याल विजयी भएका छन्। उनले ३५ हजार ९३ मत ल्याउँदा कांग्रेसकी नानु मैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन्।

काठमाडौँ क्षेत्र नं. ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरे।

काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर गणेश पराजुली विजयी भएका छन्। उनले कांग्रेसका प्रमोदहरि गुरागाईं र नेपाली कम्युनिष्टका वसन्त प्रसाद मानन्धरलाई भारती मतान्तरले हराएका छन्।

त्यसैगरी, काठमाडौँ क्षेत्र नं. ६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भएका छन्। यस क्षेत्रमा कुल ३४ हजार ४७३ मत खसेको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ र नेकपा (एमाले) का अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।

काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मत ल्याए।

काठमाण्डौ ४ मा रास्वपाका पुकार बम विजयी हुँदा कांग्रेसका सचित तिमल्सिना र एमालेका राजन भट्टराई पराजित भए। पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए।

त्यस्तै, काठमाडौँ क्षेत्र नं. ३ मा पनि रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे।

काठमाडौँ क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत ल्याई निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे।

यसबाहेक रास्वापाले कास्कीका क्षेत्र नं २ र ३ मा पनि जितेको छ। साथै, स्यांजा १, रुपन्देही ४ र बाँकेका क्षेत्र १ र ३ मा पनि रास्वपा विजयी भएको छ। 

रास्वपाले ९९ क्षेत्रमा अग्रता बनाएको छ।

चार क्षेत्रमा कांग्रेसको जित
कांग्रेसले अहिलेसम्म ४ निर्वाचन क्षेत्रमा जित हात पारेको छ। दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन्। निकटम प्रतिस्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए। यस्तै, रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुँदा निकटम प्रतिस्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए।

मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भए। प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे भने मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाकी एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याइन्। 

कांग्रेसले ११ स्थानमा अग्रता बनाएको छ।

नेपाली कम्युनिस्ट पार्टी
रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। उनले १० हजार २४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे।

नेकपाले अहिलेसम्म ११ स्थानमा अग्रता कायम राखेको छ।

नेकपा एमाले
बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरे। एमाले पनि ११ स्थानमा अगाडि छ।