प्रतिनिधिसभा निर्वाचन: ९४ निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

हालसम्मको मतगणनाअनुसार प्रतिनिधिसभाका ९४ निर्वाचन क्षेत्रमा रास्वपा अग्रस्थानमा छ।

काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता कायम गरेको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्मको प्रारम्भिक रुझानमा रास्वपा ९४ स्थानमा अगाडि देखिएको छ। गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ।

आयोगको विवरणअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) ले १०–१० स्थानमा अग्रता लिइरहेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ८ स्थानमा अग्रस्थानमा छ। 

त्यस्तै, श्रम संस्कृति पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले एक/एक स्थानमा अग्रता लिएका छन्।

हालसम्म प्रतिनिधिसभा सदस्यमा २ जना निर्वाचित भइसकेका छन्। निर्वाचनको नतिजाअनुसार काठमाडौँ क्षेत्र नं १ बाट रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छिन्। त्यसैगरी, मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी भएका छन्।

मतगणना कार्य जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।