प्रतिनिधिसभा निर्वाचनः हिमाली तीन जिल्लामा मतपत्र ढुवानी बाँकी

प्रतिकूल मौसमका कारण संखुवासभा, डोल्पा र गोरखामा मतपत्र ढुवानी हुन नसक्दा ती जिल्लाको मतगणना प्रभावित भएको छ।

काठमाडौँ— हिमाली क्षेत्रका १५ मध्ये तीन जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ। प्रतिकूल मौसमका कारण संखुवासभा, डोल्पा र गोरखामा मतपत्र पुर्‍याउन समस्या भएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई दिएको जानकारीअनुसार, ती जिल्लाका हिमाली भेगमा रहेका मतदान केन्द्रहरूमा हेलिकप्टरमार्फत मतपत्र ढुवानी गर्नुपर्ने थियो। तर, बिहीबार बेलुकीदेखि नै प्रतिकूल मौसमका कारण उडान भर्न नसकिएको उनले बताए।

मौसममा सुधार आउनासाथ आजै तीनवटै जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याउने गरी तयारी भइरहेको छ। मतपत्र ढुवानी भइसकेपछि सम्बन्धित जिल्लामा मतगणना शुरू हुनेछ।

यसैगरी, रसुवा, दोलखा, रुकुम (पूर्वी), बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम (पश्चिम), सोलुखुम्बु र मुगुका हिमाली मतदान केन्द्रहरूमा भने मतपत्र ढुवानी भइसकेको उनले जानकारी दिए।

यस्तै, आयोगले स्याङ्जा, दोलखा र धनुषा निर्वाचन क्षेत्र नं १ मा कानूनबमोजिम मतगणना अघि बढाउन निर्देशन दिएको छ। विशेष गरी धनुषा–१ मा ‘घण्टी’ चुनाव चिह्नमा खसेका मतहरूलाई अन्य मतबाट छुट्ट्याएर मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको छ।