मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगुका सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा​​​​​​​ ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरू हुने  जनाइएको छ।

काठमाडौँ- मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ।

मुगुका ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मत पेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए।

उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन।  खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिकामा ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकी रहेको खत्रीको भनाइ छ।

सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरू हुने  जनाइएको छ।