दिउँसो १ बजेसम्म देशभर करिब २५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो १ बजेसम्म देशभर करिब २४.७८ प्रतिशत मतदान सम्पन्न भएको छ।

काठमाडौँ— प्रतिनिधिसभा सदस्यका लागि बिहीबार देशभर भइरहेको निर्वाचनमा दिउँसो १ बजेसम्म ४६ लाख ८५ हजारभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार देशभरका मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा मतदान भइरहेको छ।

आयोगका अनुसार देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४.७८ प्रतिशतले मतदान गरेका हुन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ।

प्रदेशगत विवरणअनुसार कोशीमा २३.१५, मधेसमा १६.१५, बागमतीमा २९.४०, गण्डकीमा ३२, लुम्बिनीमा २५.४०, कर्णालीमा २४.३८ र सुदूरपश्चिममा २९.६६ प्रतिशत मत खसेको छ।

उपत्यकाका तीन जिल्लामा भने करिब २५.५५ प्रतिशत मतदान भएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू बिहानैदेखि लामबद्ध भई मतदान गरिरहेका छन्।

आयोगले हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नघटेको जानकारी दिएको छ। साथै, आयोगले मतदाताहरूलाई बेलुकी ५ बजेसम्म निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रहसमेत गरेको छ।