जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चार जना पक्राउ

जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले लागुऔषधसहित लोकन्थलीबाट पक्राउ गरेको छ।

काठमाडौँ— जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित चार जनालाई मंगलबार सुरक्षा निकायले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ। लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा जेनजी आन्दोलनका क्रममा फरार भएको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

थापासँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थलीका ३३ वर्षीय आशिष पाण्डे, इमाडोलकी २१ वर्षीया राशी गौतम र काठमाडौँ नक्सालका २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको उनले बताए।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई मंगलबार अपराह्न लोकन्थलीको एक गल्लीमा रहेको जस्ताको टहराबाट नियन्त्रणमा लिएको हो। उनीहरूले त्यहाँ डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारिएको थियो। उनीहरूको साथबाट १५ ग्राम लागुऔषध (ब्राउन सुगर) र ५० वटा ट्याब्लेट समेत बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको प्रवक्ता भट्टले बताए।