धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

धनुषाको बडहरी पुलमा फेला परेको शंकास्पद वस्तु विष्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ।

जनकपुरधाम— धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालक घाइते भएका छन्। बडहरीस्थित पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुलाई पैदल हिँडिरहेका बालबालिकाले खुट्टाले छोएपछि विस्फोट भएको हो।

विस्फोटमा परी मिथिला नगरपालिका–८ जमुनिवासका टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र सोही स्थानका ८ वर्षीय सुशील माझी घाइते भएका छन्। आशाको दुवै खुट्टामा र सुशीलको शरीरका विभिन्न अंगमा चोटपटक लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। विस्फोट भएको वस्तु के थियो भन्नेबारे अझै यकिन हुन नसकेको धनुषा प्रहरीले जनाएको छ।