रामेछापका तीन मतदान केन्द्रमा फेरि पठाइयो कर्मचारी र निर्वाचन सामग्री

मतदानका लागि खटाइएका कर्मचारी र निर्वाचन सामग्री बोकेको सवारी सोमबार दुर्घटनामा परेपछि रामेछापका तीनवटा मतदान केन्द्रका लागि मंगलबार दोस्रो पटक निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।

काठमाडौँ- रामेछापका तीनवटा मतदान केन्द्रका लागि खटाइएका कर्मचारी र निर्वाचन सामग्री बोकेको सवारी सोमबार दुर्घटनामा परेपछि मंगलबार दोस्रो पटक निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ।

रामेछाप नगरपालिका-२ देउरालीको शीतलादेवी मा.वि. र सिरुवारी मतदान केन्द्र तथा वडा-३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामग्री बोकेको सवारी दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो। दुर्घटनामा अन्य सात जना कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूको काठमाडौँ सैनिक अस्पतालमा उपचार भइरहेको छ।

मतदान अधिकृतको मृत्यु र कर्मचारीहरू घाइते भएपछि सो ठाउँमा अन्य कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ। 

ती मतदान केन्द्रमा पठाएका मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री पनि क्षति भएको थियो।