रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटना: एक जनाको मृत्यु, ६ घाइते

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

रामेछाप– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको साँघुटारतर्फ जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा परी एक जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) भोला भट्टले जानकारी दिए।

स्थानीयका अनुसार निर्वाचन सामग्री र कर्मचारीलाई गन्तव्यमा पुर्‍याएर फर्कने (ब्याक गर्ने) क्रममा गाडी अनियन्त्रित भई सडकबाट तल खसेको थियो। घाइतेहरूको अवस्था र उनीहरूको परिचय खुल्न बाँकी छ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ। घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।