रामेछापमा निर्वाचन कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना

रामेछापको देउरालीमा निर्वाचन कर्मचारी र सामग्री पुर्‍याएर फर्काउने क्रममा गाडी दुर्घटनामा परेको छ।

फाइल तस्वीर

रामेछाप– रामेछापमा कर्मचारीसहित निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा परेको छ। रामेछाप नगरपालिका–२ देउरालीस्थित सितलादेवी मावि र वडा नं. ३ साँघुटारस्थित वडा कार्यालय मतदान केन्द्रका लागि कर्मचारी र सामग्री लिएर गएको निसान गाडी दुर्घटनामा परेको हो।

स्थानीयका अनुसार देउराली मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामग्री झारेर ब्याक गर्ने क्रममा गाडी सडकबाट तल खसेको थियो। गाडीमा कति जना सवार थिए भन्नेबारे आधिकारिक विवरण अझै आउन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले गाडी भिरबाट खसेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।