मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ।

रामेछाप– मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रमा बा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ निवासी ३१ वर्षीय सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेटौँडा रिफर गरिएको थियो। उपचारकै क्रममा सोमबार दिउसो १ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकको शव हाल अस्पतालमै राखिएको छ। घटनाबारे कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।