लेबनानमा इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु, १४९ घाइते

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएका इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने अन्य १४९ जना घाइते भएका छन्।

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएका इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा अन्य १४९ जना घाइते भएका छन्।

मन्त्रालयको जनस्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेरुतको दक्षिणी उपनगरमा मात्रै २० जनाको ज्यान गएको छ भने ९१ जना घाइते भएका छन्। 

यस्तै, दक्षिणी लेबनानमा भएका अन्य आक्रमणमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएको केन्द्रले जनाएको छ। घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दक्षिणी लेबनानबाट इजरायली क्षेत्रतर्फ रकेट प्रहार भएपछि इजरायलले बेरुतका दक्षिणी उपनगरहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको हो। यस आक्रमणपछि सो क्षेत्रमा ठूलो सङ्ख्यामा सर्वसाधारणको विस्थापन शुरू भएको छ।

सन् २०२४ नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट इजरायली भू–भागमा रकेट प्रहार गरिएको जनाइएको छ। नोभेम्बरको सम्झौताअनुसार ६० दिनभित्र दक्षिणी सीमावर्ती गाउँ र सहरहरूबाट इजरायली सेना फिर्ता हुनुपर्ने प्रावधान थियो। 

पछि लेबनानी सरकारले सो समयसीमा फेब्रुअरी १८ सम्मका लागि विस्तार गर्न सहमति जनाएको थियो। यद्यपि, इजरायली सेना अझै पाँच वटा मुख्य बिन्दुमा तैनाथ रहेको र युद्धविरामको उल्लंघन जारी रहेको लेबनानी पक्षको दाबी छ।