यूएईमा इरानी आक्रमणबाट नेपालीसहित ३ जनाको मृत्यु, ५८ घाइते

यूएईमा भएको इरानी आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको यूएईको रक्षा मन्त्रालयले जनाएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको इरानी आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा नेपालसहित पाकिस्तान र बांग्लादेशका एक–एक जना नागरिक रहेका यूएईको रक्षा मन्त्रालयले जनाएको छ। 

खालीज टाइम्सका अनुसार उक्त घटनामा विभिन्न देशका ५८ जना बासिन्दा सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा एमिराती, नेपाली, भारतीय, पाकिस्तानी, इजिप्टियन, इथियोपियाली, फिलिपिनो, इरानी, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डन, इरिट्रियन, लेबनानी र अफगान नागरिक रहेका छन्।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबारदेखि यूएईतर्फ कुल १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ५४१ वटा ड्रोन प्रहार गरिएको पत्ता लागेको छ। तीमध्ये १५२ वटा क्षेप्यास्त्रलाई रक्षा प्रणालीले बीचमै नष्ट गरेको छ भने १३ वटा समुद्रमा खसेका छन्। 

त्यसैगरी, ५०६ वटा ड्रोनहरूलाई निष्क्रिय पारिएको तर बाँकी ३५ वटा ड्रोन यूएईको भूभागमा खस्दा केही भौतिक क्षति पुगेको मन्त्रालयको भनाइ छ। आक्रमणको दोस्रो दिन मात्रै वायु रक्षा बलले २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र, दुई वटा क्रुज क्षेप्यास्त्र र ३११ वटा ड्रोनहरू नष्ट गरेको जनाएको छ। सोही क्रममा २१ वटा ड्रोन भने नागरिक बस्ती र अन्य क्षेत्रमा खसेका थिए।

आक्रमणका क्रममा नष्ट गरिएका क्षेप्यास्त्र र ड्रोनका भग्नावशेषहरूका कारण केही नागरिक सम्पत्तिमा सामान्यदेखि मध्यम क्षति पुगेको मन्त्रालयले जनाएको छ। यूएईको सशस्त्र बलले कुनै पनि सुरक्षा चुनौतीको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको र नागरिक एवं विदेशी बासिन्दाहरूको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ। मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक निकायबाट प्राप्त हुने जानकारीमा मात्र विश्वास गर्न र पुष्टि नभएका सूचना वा अफवाहहरू सम्प्रेषण नगर्नसमेत आग्रह गरेको छ।