प्रतिनिधिसभा निर्वाचनमा सहभागी ६५ दलमध्ये ११ दल र ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८६५ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८६५ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन्। आइतबार सम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता, निर्वाचन कानूनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।
'प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२' अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अनिवार्य खाता खोल्नुपर्ने प्रावधान छ। निर्वाचन प्रचारप्रसारका लागि लिइने आर्थिक सहयोग र खर्चको कारोबार सोही खातामार्फत हुनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री बनाउन निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
निर्वाचन सफल पार्न सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्य र संयम अपनाउन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न तथा गालीगलौजजन्य सामग्री उत्पादन र प्रसारण नगर्न आयोगले अनुरोध गरेको छ। शान्ति सुरक्षालाई थप मजबुत बनाउन र सम्भावित अवाञ्छित गतिविधि रोक्न समेत आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई मानवअधिकारमैत्री बनाई नागरिकको अधिकारको सम्मान गर्न सरकार लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको उनले उल्लेख गरेका छन्।
“आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनका क्रममा उम्मेदवारहरूबाट आचारसंहिताको पूर्ण पालना हुन नसकेको पाइएको छ। देशका विभिन्न भागमा गरिएका र्याली तथा सभामा बालबालिका सहभागी हुनु र पत्रकारमाथि धम्की तथा कुटपिट हुनु आचारसंहिता विपरीत हो,” विज्ञप्तिमा भनिएको छ। यस्तै, अनुमति बिना व्यक्तिका घरमा प्रचार सामग्री र झन्डा टाँस्नु तथा स्थानीय एवं प्रदेश सरकारका पदाधिकारी निर्वाचन प्रचारप्रसारमा सहभागी हुनुलाई पनि आयोगले गम्भीरतापूर्वक लिएको छ।
अनुगमनका क्रममा उम्मेदवारले अनुमति बिना बढी सवारीसाधन प्रयोग गरेको, मतदातालाई अनुचित प्रभाव पार्ने प्रयास गरेको र दलका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत एक-अर्कालाई गालीगलौज गरेको पाइएको आयोगले जनाएको छ। सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसकेको तथ्य फेला परे पनि दलका नेताहरूबीचको आपसी सौहार्दता र सुरक्षा सतर्कतालाई आयोगले सकारात्मक रूपमा लिएको उनले बताएका छन्।
आगामी फागुन २१ को निर्वाचनका सन्दर्भमा आयोगले ४२ जिल्लामा अनुगमन टोली खटाएको छ। केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएको टोलीले निर्वाचन तयारी, आचारसंहिताको पालना र शान्ति सुरक्षाको अवस्थाबारे प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल गरेको थियो। आयोगले निर्वाचनका दिन पनि देशभर अनुगमन टोली परिचालन गर्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
